For any temple-related queries, spiritual guidance, or event information, please don’t hesitate to contact us, and we’ll be delighted to assist you on your spiritual journey.
Contribute to the spiritual well-being of our community by making a heartfelt donation to our temple, fostering a sacred space for worship and community connection.
Meet our revered Swami Ji, our dedicated priest our esteemed board members who tirelessly work towards sustaining the spiritual growth of our temple community.
अनन्तश्रीविभूषित नेपालदेशीय आद्य जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजीको संक्षिप्त जीवनी
नेपालको सुदूरपूर्वी जिल्ला इलामको नामसालिङ्ग निवासी पं.श्री मुक्तिनाथ र यशोदा रिमालको पुत्ररत्न श्रीयोगिराज स्वामीजी वि. सं १९२५ भाद्र कृष्ण दशमी तिथि आर्द्रा नक्षत्र आइतबारका दिन अवतरित हुनु भएको थियो। वाल्यकालमा श्रीस्वामीजी काशिनाथ नामले परिचित सुशील एवं सर्वलक्षण सम्पन्न हुनुहुन्थ्यो। आठ वर्षको उमेरमा व्रतबन्ध (उपनयन संस्कार) सम्पन्न गरी पिताजी स्वयंले वेद अध्यापन गराउनु भयो। केही बर्षसम्म घरमै शुक्लयजुर्वेदको गहन अध्ययन गरी संस्कृत व्याकरण आदि विशेष ग्रन्थको अध्ययनार्थ भोजपुर दिङ्लामा बालागुरु षडानन्दज्यूद्वारा स्थापित संस्कृत पाठशालामा अध्ययन प्रारम्भ गर्नु भयो। आबालब्रह्मचारी षडानन्द गुरुज्यूबाट संस्कृत व्याकरण, तर्कशास्त्र, नीतिशास्त्र, प्रारम्भिक योग, धर्मशास्त्र, एवं तपस्या साधना आदि विभिन्न विषयमा अभिरुचिपूर्वक अध्ययन गर्नु भयो। बालागुरुज्यूबाट नै संपूर्ण कर्मकाण्ड र उच्चशिक्षाको आधारस्तम्भ समेत पुरा गरेर उत्तर भारतको अयोध्यामा वेदान्त दर्शनको अध्ययनमा दत्तचित्त हुनुभयो। त्यसपछि श्रीमद्भागवत महापुराण पौराणिक सद्ग्रन्थहरूको अध्ययन गर्न वृन्दावनतर्फ सवारी हुनुभयो। वृन्दावनमा केही बर्षको अध्ययन पछि समय-समयमा गृहग्राम नामसालिङ आएर कर्म, ज्ञान, भक्ति, वैराग्य एवं आत्मा र परमात्माका विषयमा प्रवचन गरेर आफन्त र छिमेकी सबैको हृदयमा आध्यात्मिक ज्ञानको उज्यालो छर्नुभयो । त्यसपछि अध्ययन, तीर्थाटन र योगसाधनालाई पनि साथसाथै अभ्यास गर्दै श्रीस्वामीजी एक योगनिष्ठ महात्माको रूपमा सुपरिचित हुनुभयो। श्रीस्वामीजी आकर्षक सुन्दर श्रीविग्रह र तेजिलो मुखाकृति एवं स्फटिक धौतवस्त्रादिले सुशोभित हुनुहुन्थ्यो। नियमित योगाभ्यास गर्नुहुने श्रीस्वामीजीको श्रीविग्रह जीवन भरी नै प्रायः एकैनासको एवं ब्रह्मतेजले परिपूर्ण कान्तियुक्त थियो। श्रीस्वामीजी सुशील, मिलनसार,सहयोगी, सामाजिक एवं गहनतम आध्यात्मिक भावनाले परिपूर्ण हुनुहुन्थ्यो। अतिविशिष्ट आध्यात्मिक जीवन चरित्रका धनी श्रीस्वामीजी सांसारिक मोहबन्धन र माया-ममताबाट विरक्त हुनुहुन्थ्यो ।
तीर्थयात्राका क्रममा जगन्नाथपुरीका शंकराचार्यज्यूबाट प्राप्त परामर्श अनुसार मोक्षप्राप्तिका लागि काञ्चिपुरममा गएर गादी श्रीअनन्ताचार्य स्वामीजी महाराजबाट पञ्चसंस्कार-मोक्षदीक्षा ग्रहण गरी रहस्यत्रयको अनुष्ठान एवं अनुसन्धानमा निरन्तर अगाडि बढ्नुभयो।
त्यसपछि श्रीस्वामीजी मन्त्रार्थ अनुसन्धान,योग साधना एवं रहस्यग्रन्थहरुको अध्ययनका लागि उत्तराखण्ड बदरिकाश्रमको ज्योतिर्मठ आएर श्रीरघुनाथाचार्यज्यूबाट अष्टाङ्गयोग साधना गरेर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि यी आठ अंगका सबै विधामा सफल साधना गरी श्रीयोगिराज पदवी प्राप्त गर्नुभयो। गोवर्धन गद्दी सम्बद्ध श्रीरघुनाथाचार्य गुरुजीले धेरै गौमाताको सेवा गर्नु भएको सत्प्रेरणाबाट श्रीयोगिराज स्वामीजी पनि गौसेवामा अग्रस्थानमा हुनुहुन्छ।